काठमाडौं, चैत २८ :

नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका जान जोखिम हुने भन्दै सचेत गराएको छ । नेपालस्थित दूतावासले एक सूचना सार्वजनिक गर्दै अमेरिका जानका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । 

अमेरिका प्रवेशको सपना देख्दै हजारौँ किलोमिटरको खतरनाक यात्रा गर्नेमध्ये धेरै जना आफ्नो गन्तव्यसम्म पुग्नै नसक्ने तथ्यांकले देखाएको छ। यस्तो अवस्थामा उनीहरूका परिवारमा थप आर्थिक बोझ र सामाजिक दबाब बढ्ने गरेको छ।

अमेरिकी सरकारका अनुसार, गैरकानुनी आप्रवासन नियन्त्रणका लागि अमेरिका हाल पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्यमा जुटिरहेको छ। सीमामा सुरक्षा प्रणाली कडा पारेर अमेरिकी नागरिकको सुरक्षासँगै मानव तस्करी तथा गैरकानुनी आप्रवासनबाट हुने पीडाको न्यूनीकरण गर्ने प्रयास भइरहेको जनाइएको छ । 

अमेरिकी सरकारले नागरिकहरूलाई यस्ता खतरनाक यात्रा नगर्न आग्रह गर्दै वैधानिक बाटो अपनाउन आह्वान गरेको हो । आपराधिक समूह र मानव तस्करको निसानामा परेर सयौं आप्रवासीहरू हिंसा, लुटपाट र मानव बेचबिखनको सिकार हुने गरेका छन्।