नवलपरासी, चैत २७ :

नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्नेमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिएको छ। यसैगरी चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर काम गरिने सडक विभागले जनाइएको छ।

सडक विभागका अनुसार, आगामी बैशाख १ देखि १५ दिनसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म सवारी साधन रोकेर काम गरिनेछ। सडक बन्द हुँदा ट्रक, टिप्पर लगायत गरुङ्गा सवारी साधनलाई पूर्वतर्फ अरुणखोला र चोरमारामा रोक्न आदेश दिइएको छ भने पश्चिमतर्फ ज्यामिरे हकुई खण्डमा रोकिने व्यवस्था गरिएको छ। यात्रुवाहक बस, मिनी बस, जिप, कार लगायत सवारी साधनलाई भने पूर्वमा दुम्किबास र पश्चिममा बर्दघाट चिसापानीमा रोक्न भनिएको छ।

सवारी साधन नै रोकेर सडक विस्तारको काम गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीले चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाटतर्फ आउने सवारी साधनले बुटवलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोरकै सडक प्रयोग गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताए।

साना गाडीहरूलाई गैंडाकोटदेखि पाल्पा हुँदै बुटवल जान मिल्ने भए पनि साना र ठुला सबै गाडीहरूको लागि नारायणघाट–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो रहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए। यस बाहेक, पश्चिमतर्फबाट पूर्व जाने वा काठमाडौं पुग्ने गाडीहरूले पनि बुटवल–पाल्पा–पोखरा–मुग्लिनको बाटो प्रयोग गर्न सक्नेछन्।