काठमाडाैं, चैत १६ :

आन्दोलनमा प्रदर्शनकारी भड्काएको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ । घाइतेलाई बी एन्ड बी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले शुक्रबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै पञ्चायतकालीन नेता नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ। उनी हालै गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन्। तर १५ गतेको प्रदर्शनको कमान्डरको जिम्मा भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिएका थिए ।

राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ। उनी राति अबेरसम्म पनि पक्राउ परेका छैनन् । प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।

प्रसाईंको कमान्डमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो ।