
प्रतीकात्मक तस्बिर ।
चितवन, चैत १२ :
त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । सहचालक घाइते छन् ।
बागमती प्रदेश ०३- ००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आज बिहान आफैं अनियन्त्रित भई मुग्लिन- नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट त्रिशूलीमा खसेको हाे ।
दुर्घटनामा रौतहट घर भएका चालक रामनारायण यादवको मृत्यु भएको छ । रौतहटकै १९ वर्षीय सहचालक असुन्द्रकुमार यादव भने घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो । चिकित्सकले चालकलाई मृत घोषणा गरेको र सहचालकलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका छन् ।
ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।